
सुनसरी, असोज २४ । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएको विषयलाई लिएर भएको झडपमा सुनसरीमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा प्रहरी र प्रदर्शनकारी छन् ।
मृत्यु भएकाको आफन्तजनले जिल्ला प्रहरी कार्यालय सुनसरी घेराउ गर्नेक्रममा तनाव भएको हो । आइतबार पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थाल्दा झडपको स्थिति आएको हो ।
यसक्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रूपमा थुनामा रहेका व्यक्तिको ‘हत्या गरेको’ आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाले भने आत्महत्या गरेको दृष्य सीसीटीभी क्यामेरामा देखिएको भन्दै प्रहरीमाथिको आरोप अनुचित रहेको बताउनुभएको छ ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा गाउँपालिका–५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामारहेकै बेला उनको मृत्यु भएको हो ।
‘केटाकेटी राजीले भागेको विषयमा राजनीति गरिएको’ भन्दै पीडित पक्षले युवतीलाई परिवारले छुटाएर लगी युवकलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्