८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


हिमपातका कारण डडेल्धुरा लगायत सुदूरपश्चिममा अत्यधिक चिसो, तापक्रम माइनस १.५ डिग्री


0
Shares

डडेल्धुरा, पुस १८ । सदरमुकाम चैनपुरसहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरुमा हिमपात भएको छ ।

बर्षासँगै भएको हिमपातका कारण पहाडी जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको छ । चैनपुरमा आठ बर्ष यता हिमपात भएको हो । हिमपातका कारण भीमदत्त राजमार्ग समेत अवरुद्ध भएको छ ।

हिमपातका कारण बिद्युत अवरुद्ध बनेको छ भने सञ्चार सम्पर्क अवरुद्ध भएको छ । डडेल्धुराको आज न्यूनतम् तापक्रम माइनस १ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । पछिल्लो २४ घन्टामा यहाँ २७ मिलिमिटर वर्षा भएको छ । पछिल्लो २४ घन्टामा दिपायलमा सबैभन्दा बढी ६४ मिलिमिटर वर्षा भएको छ । 

वर्षासँगै सुदूरपश्चिमका बाजुरा, अछाम, डोटी, बझाङ, बैतडी र दार्चुला जिल्ला पनि हिमपात भएको हो । हिमपातसँगै जिल्लामा अत्याधिक चिसो बढेको छ । हिमपातका कारण स्थानीय घर बाहिर निस्कन सकेका छैनन् । हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको छ ।

गोठमा गाईभैँसी र भेँडापाठा चराउन पुगेका स्थानीय कृषकलाई समेत सामान पुर्‍याउन झनै समस्या भएको छ । सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । 

हिमपात भएपछि विभिन्न रोगकिरासमेत नष्ट भएर जाने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । सुदूरपश्चिमका पूर्वी क्षेत्रका चार स्थानीय तह र तल्लो क्षेत्रका गौमूल गाउँपालिकालगायतका क्षेत्रका विद्यालय हिमपातका कारण पूर्णरूपमा बन्द भएका छन् ।

हिमपातले चिसो हुने भएकाले बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय नै बन्द भएका हुन् । अधिकांश विद्यालयमा तेस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । वर्षा र हिमपातका कारण विद्यालयले सञ्चालन गर्दै आएका परीक्षासमेत प्रभावित बनेको छ ।