
काठमाडौं, असोज २६ । घर घरमा दशैं मनाइरहेका बेला देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ ।
६२ जना घाइते भएका छन् । दुईदिनभित्र सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४७ नाघेको छ । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा र नेपालगञ्ज पु¥याएका थप ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको हो । नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको भे १ ख १६७ नम्बरको बस पिनामा खोलामा दुर्घटना भएको हो ।
टायर पञ्चर भएको कारण बस दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतकको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ । उनीहरुको सनाखत गरेपछि पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।
उता धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुराको राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन । घाईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । यसैगरी काठमाडौंबाट दोलखाको चरिकोट जाँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । लामोसाँघु जिरी सडकखण्डको सात किलोमा बस दुर्घटना भएको हो । घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
उता गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा मंगलवार बलेरो जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते भएका छन् । बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्