
अक्कल कुँवर
काठमाडौं, असोज २६ । संघीय संसद चालु अधिवेशन पनि निष्प्रभावि भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट पारित गर्नु एकमात्र चालु अधिवेशनको उपलब्धि रह्यो । त्यसबाहेक न संसदमा नयाँ विधेयक नै आए न त जनजीविकाका सवालले नै प्राथमिकता पायो । चालु अधिवेशन राजनीतिक दलहरुको दाउपेचको थलोमा मात्र सीमित रह्यो ।
गत भदौ २३ देखि सुरु भएको संघीय संसदको चालु अधिवेशनमा दशैं बिदाअघि जम्मा १२ वटा बैठक बस्यो । अहिलेसम्मका हरेक बैठक प्रमुख प्रतिपक्ष दल एमालेको निशानामा परे । सभामुखको भूमिकामा प्रश्न्न उठाउँदै एमाले सांसदहरुले निरन्तर बैठक अवरुद्ध गरिरहेका छन् । संसद अवरुद्धकै कारण मुलुक केही दिन बजेटविहीन अवस्थामा पुग्यो । चालु अधिवेशन प्रतिस्थापन विधेयकमार्फत बजेट पारित गर्न र बजेस सम्बन्धी आवश्यक ३ बटा विधेयक पारित गर्न सफल भयो ।
अहिलेसम्म ६ वटा शोकप्रस्ताव पारित भएका छन् । यस्तै, चालुअधिवेशनले रेल्वे विधेयक २०७६ र संघीय निजामति सेवा विधेयक, २०७५ गरी २ विधेयक प्रस्तुत भएर फिर्ता लिएको छ । अघिल्लो सरकारले ल्याएका सामाजिक सुरक्षा, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन र नेपाल नागरिकता अध्यादेश चालु अधिवेशनमा पेश भए ।
यस्तै, यौन हिंसा बिरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, औषधि तेस्रो संशोधन, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, सपथ सम्बन्धी अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि अध्यादेश चालुअधिवेशनमा पेश भएपनि किनारा लाग्न सकेनन । अधिवेशनमा विभिन्न संबैधानिक निकायका वार्षिक प्रतिवेदन पेश भएका छन् । चालुअधिवेशनमा कुनै पनि नयाँ विधेयक पेश भएका छैनन् भने विषयगत समितिबाट पारित भएका विधेयकहरु समेत लामो समयसम्म थाति रहेका छन् ।
संघीय संसदमा दुवै सदनमा झण्डै ४ दर्जन बढी विधेयक विभिन्न अवस्थामा विचाराधिन छन् तर ती विधेयकलाई चालु अधिवेशनले अहिलेसम्म अगाडि बढाउन सकेको छैन् । लामो समयदेखि विपक्षी दलले सदन अवरुद्ध गरिरहेको छ । चालु अधिवेशनले कुनै राजनीतिक निकास दिन सकेको छैन् । पार्टीले कारवाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त गरेको सूचना टाँस नगरेसम्म संसद अवरोध जारी राख्ने अडान राखेको छ ।
सदनको अवरोध हटाउन सरकार र सभामुखले पर्याप्त प्रयास गर्न सकेको छैन् । विपक्षी दलको नारावाजीबीच सभामुखले कार्यसूची अगाडि बढाएपनि संसदले दिनुपर्ने उपलब्धी दिन सकेको छैन् । संघीय संसदको चालुअधिवेशन सांसदले हाजिर गर्ने, तलबभत्ता खाने, विपक्षी दलले सभामुख र सरकारलाई गाली गर्ने थलोको रुपमा मात्र सीमित भएको छ ।
संसदको अघिल्लो अधिवेशन पनि कामकाजविहीन भएपछि हठात् अन्त्य गरिएको थियो । चालुअधिवेशन पनि कानुन बनाउने र जनजीविकाका सवाल उठाउने विषयमा पूर्णत निष्प्रभावी भएको छ । सोमबारको बैठकपछि सांसदहरुले लामो समयसम्म दशै विदा पाएका छन् । माग सम्बोधन नभएसम्म सदन सुचारु हुन नदिने अडानमा विपक्षी कायमै रहेकाले दशै विदापछि बस्ने संसदका बैठक पनि उपलब्धिमूलक हुनेमा आशंका छ ।
प्रतिक्रिया दिनुहोस्