२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको दर्शन


0
Shares

काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभयो ।

उहाँले बडादशैंको महाअष्टमीका अवसरमा पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा आज विहान पूजाअर्चना गर्नुभएको हो । उहाँ राष्ट्रपति भएपछि यस मन्दिरमा पूजाअर्चनाका लागि तेस्रो पटक पुग्नु भएको हो ।

राष्ट्रप्रमुखले बडादशैंको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललगायत स्थानीय जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गर्नुभएकी राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पु¥याइएको थियो ।

करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ । यो मन्दिरमा विशेष गरी दशैँ, माघे–संक्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ ।