१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरेन्द्रनगर बजारमा ट्राफिक व्यवस्थापनमा चुनौति, सुर्खेतका सडक विस्तार हुँदै


0
Shares

मानबहादुर वली
सुर्खेत, असोज ३० । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका साँघुरा सडकका कारण ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ । अझ साँघुरा सडकमा जथाभावी पार्किङले बजार थप कुरुप बन्दै मात्र गएको छैन, दुर्घटनाको जोखिम पनि उत्तिक्कै बढेको छ । दुर्घटनाको जोखिम कम गर्न बजार क्षेत्रको सडक विस्तार थालिएको हो ।

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको बजार क्षेत्रमा व्यवसाय विस्तार, यातायातका साधन प्रयोगमा भएको वृद्धिले पुरानो सडक साघुँरो भएसँगै सडक स्तरोन्नती गर्न लागिएको छ । वीरेन्द्रनगर नगरपालिका, प्रदेश र संघीय सरकारको संयुक्त योजनामा मुख्य बजार क्षेत्रका सडक स्तरोन्नती गरिने भएको हो । मंगलगढीदेखि गणेशचोकसम्मको मुख्य सडक फराकिलो र व्यवस्थित बनाउन लागिएको छ ।

मुख्य सडक ९ सय ४२ मिटर र बजार क्षेत्रमा अन्य गरी करिब २ हजार ७ सय मिटर सडक विस्तार तथा स्तरोन्नती हुनेछ । संघीय सरकारको सडक विभाग, प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाको त्रिपक्षीय समन्वयमा सडक विस्तार र स्तरोन्नतीको काम सुरु हुन लागेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो ।

जन नमुना माध्यमिक विद्यालयदेखि रामजानकी मन्दिर र वीरेन्द्रचोकदेखि यरीचोकसम्मका सडक पनि स्तरोन्नती गरिने भएको छ । मंगलगढी–गणेशचोक सडक १३ करोड लगानीमा स्तरोन्नती गर्न लागिएको छ । उक्त सडक १४ मिटर पिच हुनेछ । एक÷एक मिटर नाली र दुई÷दुई मिटर फुटफाथसहित २० मिटर सडक विस्तार गर्न लागिएको हो । नाला माथिबाटै फुटफाथ बनाउन लागिएको छ । संघीय सकारको समेत बजेट जोड्दा २१ करोडको लागतमा वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न सडकको स्तरोन्नती हुने छ ।

पूर्वाधार विकास निर्देशनालयका अनुसार वीरेन्द्रनगर बजारका सडक स्तरोन्नतीका लागि खड्का निर्माण सेवा बाँकेलाई १३ करोडमा टेन्डर परिसकेको छ । चालु आर्थिक वर्षभित्रै सबै कामहरू सक्ने गरी सडक विस्तारको काम अघि बढाइएको छ ।