
काठमाडौं, कात्तिक २ । घरेलु हिंसामा मारिएकाको न्यायका लागि भन्दै १२ दिनदेखि अनशनमा रहनुभएकी रूबी खानले अनशन तोड्नुभएको छ ।
बाँके घटना छानबिनका लागि समिति बनाउन सरकार सहमत भएपछि खानले अनशन तोड्नुभएको हो । अधिकारकर्मी एवं मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले जुस खुवाएर अनशन तोडाइएको हो ।
गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएपछि मंगलबार दिउँसो खानले अनशन तोड्नुभएको हो । समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ ।
बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्याय माग गर्दै रूबी खानसहितका केही स्थानीय १२ दिनदेखि धर्नामा बसेका थिए । १४ जना महिला न्याय माग्न २० दिन हिंडेर बाँकेदेखि काठमाडौंसम्म आएका थिए ।
बाँकेमा परिवारकै मिलेमतोमा दुई महिला नन्कुन्नी र निर्मलाको हत्या गरिए पनि प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाही गर्न माग राख्दै आएका थिए ।
जिल्लामा न्यायिक प्रक्रिया शुरु नगरेपछि उनीहरुले दोषीलाई कारबाही र कानूनी प्रक्रिया अघि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही माग गरी काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना दिइरहेका थिए ।
हत्या भएको व्यक्तिलाई आत्महत्याको झूठो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको आरोप बाँके प्रहरीमाथि लागेको छ ।
प्रतिक्रिया दिनुहोस्