
काठमाडौं, कात्तिक ३ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज फिर्ता गराएको छ ।
राष्ट्र बैंकले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो ।
कात्तिक १ गतेबाट केही बैंकले ब्याज दर बढाएर ११ प्रतिशतमाथिसम्म प्रकाशित गरेका थिए । निजी क्षेत्रका संगठनहरुले ब्याज बृद्धिप्रति राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै आएका थिए ।
मंगलबार मात्र उद्योग संगठन मोरङले बजारमा तरलता अभावको कारण देखाउँदै गरिएको व्याजदर अबिलम्ब पुनरावलोकन गरी एकल अंकमा नबढ्ने गरी निर्धारण गराउन संगठनले केन्द्रीय बैंक समक्ष माग गरेको थियो ।
ब्याजदर बढ्नुमा मौद्रिक नीतिमा गरिएको सिडी अनुपातको व्यवस्था नै मुख्य कारक भन्दै यसलाई परिमार्जन गर्न पनि संगठनले राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।
राष्ट्र बैंकको पछिल्लो निर्देशनमा अबदेखि जुनसुकै निक्षपको ब्याज निर्धारण गर्दा अघिल्लो महिनाको भन्दा बढिमा १० प्रतिशतले मात्र परिवर्तन गर्न पाइने व्यवस्था गरिएको छ ।
संस्थागत मुद्दति निक्षेपकर्ताले पाउने ब्याज अब सर्वसाधारणले पाउनेभन्दा कम हुने भएको छ । यो ब्यवस्था बुधबारबाटै लागू हुने छ ।
बैंकहरुले यस महिनाको ब्याजदर आज निर्धारण गर्नेछन् । यस्तै, संस्थागतको ब्याज ब्यक्तिगतको भन्दा एक प्रतिशत बिन्दु कम निर्धारण गर्नु पर्ने पनि निर्देशनमा व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्