१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जंगली हात्ती धपाउन सुरक्षाकर्मी परिचालन


0
Shares

कञ्चनपुर, कात्तिक ४ । जङ्गली हात्तीको बथान भगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

किसानको खेतबारीमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो ।

नगरप्रमुख दिलबहादुर ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरिएको छ । हात्ती नियन्त्रणका लागि सुरक्षा निकायका २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका–१, २, ३, ४, ५, ८, ११ र १२ वडा प्रभावित छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने र इलेक्ट्रक फेन्सिङलाई व्यवस्थित पार्ने काम भइरहेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले जानकारी दिनुभयो ।

हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने काम भइरहेको उहाँको भनाइ छ । जङ्गली हात्तीले बुधबारमात्रै नगरपालिकाको वडा नं १२ का ध्वजबहादुर कार्की र मथुरा कार्कीको ज्यान लिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

बस्ती नजिकैका सामुदायिक वनमा जङ्गली हात्ती दिउँसै ओहोरदोहोर गर्दै आएका छन् । स्थानीय बासिन्दाले हात्तीकै डरले मेलापात गर्न समेत छाडेका छन् । प्रत्येक वर्ष भारतको दुधुवा नेशनल पार्क हुँदै जङ्गली हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ ।