
काठमाडौं, कात्तिक ५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याज नबढ्ने बताउनु भएको छ ।
वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाई रहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्दै औद्योगीकीकरणलाई प्रवद्र्धन हुने नीतिगत व्यवस्था गर्ने बताउनुभएको हो ।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको बताउनुभयो । उहाँले हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशनजारी गरेको पनि उल्लेख गर्नुभयो । यसबाट लगानीको ब्याजदर स्थिर हुने राष्ट्र बैंकको अपेक्षा रहेको उहाँको भनाइ छ ।
छलफलका क्रममा राष्ट्र बैंकले हाल बैंकहरुले निक्षेपमा व्याजदर बढाएको भएपनि यसले कर्जाको ब्याजदर नबढ्ने जनाएको छ । कुनै बैंकहरुले करारभएको प्रिमियम दरमा हेरफेर गरेमा तत्काल राष्ट्र बैंकलाई सूचीत गर्न समेत भनेको छ ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बैंकहरुले निक्षेपमा ब्याजदर बढाई रहेकोभन्दै यसले आगामी दिनमा कर्जामा समेत व्याज बढ्ने भएकोले मुलुकमा लगानी महँगो हुने चिन्ता व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्