काठमाडौं, कात्तिक ७ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न राजी हुनुभएको छ ।
नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा राणाले पर्सी (मंगलबार) देखि गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता जनाएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो ।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्व समितिले स्वचालित (अटोमेसन) पद्धतिबाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न दिएको सुझाव लागू गर्न राणा तयार हुनुभएको हो ।
गोला प्रथाबाट पेशी तोक्न आनाकानी गरेको, राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेको, कार्यकारीसँग मन्त्रीमासमेत भाग मागेको जस्ता विषयमा प्रधानन्यायाधीश राणा घेरिनुभएकै समयमा बारका पदाधिकारीहरुसँगको भेटमा उहाँले आफ्नो बचाउ गर्नुभएको हो ।
प्रधानन्यायाधीश जबराले सम्भवतः मंसिरदेखि अटोमेसनमा लैजाने भन्दै पौडेलले तत्काललाई गोलाप्रथामा जाँदा पनि धेरै विषय समाधान हुने उल्लेख गर्नुभयो । यसै प्रयोजनका लागि प्रधानन्यायाधीश राणा सोमबार फूलकोर्ट बोलाउन पनि तयार हुनुभएको छ ।

गजेन्द्र हमाललाई मन्त्री बनाउने विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिनुभएका राणाले श्रीमती बितेदेखि ससुरालीसँग कुनै साइनो नै रहेको बन्दै बचाउ गर्नुभएको थियो ।
पौडेलका अनुसार प्रधानन्यायाधीश राणाले गजेन्द्रलाई मन्त्री बनाउने विषयमा संलग्नता नरहेको भन्दै भन्नुभयो, ‘मैले विहे गरी श्रीमती २०४१ सालमा नै बितेकी हुन् । त्यसपछि मेरो ससुराली आउजाउ छैन । उहाँसँगको साइनो पनि त्यस्तो हो । तर गजेन्द्रसँग मेरो नाम जोडिएपछि उहाँलाई मन्त्री नबनाइदिनुस् भनेर प्रधानमन्त्रीलाई मैले भनेको हुँ तर सुनुवाइ भएन । उहाँ मन्त्री बन्नुभयो आलोचना भएपछि राजीनामा पनि दिनुभयो । त्यसमा मेरो कुनै संलग्नता छैन ।’
बारका पदाधिकारीहरुसँग राणाले सञ्चारमाध्यममा आएका विषय असत्य भएको भन्दै कमीकमजोरी भए सुधारेर अघि बढ्न म तयार रहेको पनि बताउनुभएको थियो । सरकारसँग आफूले कुनै पनि भागबन्डा नगरेको, मन्त्रीको कोटा नमागेको र सुनुवाइलाई प्राथमिकता नदिएको कुरा सत्य नभएको राणाले भेटमा बताएको पौडेलले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
आफूलाई सहयोग गर्न राणाले गरेको आग्रहमा बार पदाधिकारीहरुले भने शुरुदेखि नै गरेको खबरदारीलाई बेवास्ता गर्दा यस्तो अवस्था आएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्