
काठमाडौं, कात्तिक ९ । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले नेपालका लागि पूर्वराजदूत रञ्जित रेको पुस्तकले नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा खरेलले नेपालका लागि पूर्वराजदूत रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताउनुभएको हो ।
उहाँले रेको पुस्तकमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको शान्तिपूर्ण विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाडौं दुविधामा छ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दा समेत सरकार मौन रहेको भन्दै खेद प्रकट गर्नुभयो । खरेलले यसको सबै दोष राजनीतिक दलका नेतृत्व वर्गलाई जाने भन्दै नेताहरु नै भारतसँग लम्पसारवादमा गएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्नेतले नेपाललाई भूटान बनाउनुपर्छ भन्ने कुरा पुस्तकमा लेखिएको भन्दै नेपालीहरुले पुस्तक जलाउनुपर्ने बताउनुभयो । नेपालका लागि यो भन्दा ठूलो अपमान अरु नहुने भन्दै उहाँले नेपालीहरु अब वीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको बताउनुभयो ।
बस्नेतले नेपाललाई भूटान बनाएर भारतको अधिनमा राख्ने कुरा रे र भारतीयहरुको दिवा सपना भएको उल्लेख गर्दै उहाँले सरकारमा सहभागी र नेपालको मुलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कितावको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु नेपालको अपमान भएको बताउनुभयो ।
पूर्व सहायक रथी बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक एमसीसी पास हुन्छ भनेपनि यो सर्वजनिक विषय भएको भन्दै यसरी राष्ट्रघात गरेर बोल्नेहरुलाई राजद्रोहीको मुद्दा लगाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्