८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रदेश ३ को राजधानी अझैं टुंगो लागेन, विवाद कायमै


0
Shares

सुवर्ण श्रेष्ठ (ईमेज)

हेटौंडा, पुस २३ । पार्टीभित्रकै सांसदबीचमा सहमति जुट्न नसक्दा प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको विषय अझै टुंगिन सकेको छैन ।

सत्तारुढ नेकपा र प्रतिपक्ष काँग्रेसको प्रदेश संसदीय दलको बैठकमा सहमति जुट्न नसक्दा निर्णय प्रक्रिया लम्बिएको छ ।

केही दिन अघि नेकपाको सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौँडा र नाम बाग्मती राख्ने सहमति गरेको थियो । पार्टीको शीर्ष तहबाट आफूहरुको अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै कतिपय प्रदेश सांसदले पार्टीको निर्देशन नमान्ने भन्दै विरोधमा उत्रिए ।

हेटौँडालाई स्थायी राजधानी तोक्दा सबै जिल्लालाई पायक नपर्ने भएकाले सबैलाई पायक हुने गरी राजधानी तोक्नुपर्ने उनीहरुको तर्क थियो । पार्टी निर्णयको विरुद्धमा गएको भन्दै निर्णय कार्यान्वयन गराउन पार्टीले सांसदहरुलाई निर्देशन समेत दियो । तर प्रदेश सांसद कोही हेटौँडा त कोही काभ्रे राजधानी बनाउनुपर्ने पक्षमा विभाजित भए ।

सचिवालयको निर्णयप्रति सांसदहरुको चर्को मतभेद उत्पन्न भएपछि असन्तुष्ट सांसदहरुलाई मंगलबार काठमाडौँ बोलाएर शीर्ष नेताले छलफल गरे ।

राजधानी र नामाकरणको विषयमा यसअघिको निर्णय नै उपयुक्त भएको भन्दै सोही निर्णय कार्यान्वयन गराउन सांसदहरुलाई पुनः निर्देशन दिइएको थियो । नेकपाका प्रदेश सांसद बसुन्धरा हुमागार्इँ सबै हिसाबबाट स्थायी राजधानी काभ्रे नै उपयुक्त हुने बताइन् ।

नेकपाकै प्रदेश सांसद लक्ष्मण लम्साल पनि सचिवालयको निर्णय सबै ठाउँका जनताको चाहनाअनुसार नभएकाले त्यसलाई सच्याउनु पर्ने बताए ।

अर्कोतिर नेपाली काँग्रेसको संसदीय दलमा पनि यस विषयमा सहमति जुट्न सकेको छैन । दुवै पार्टीको संसदीय दलको बैठकमा सहमति जुट्न नसक्दा बुधबारको प्रदेश बैठकबाट प्रक्रिया मात्र अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वबाट हेटाँैडालाई अस्थायी राजधानी तोकिएको थियो ।

त्यसबेला बाध्यतात्मक अवस्थामा अस्थायी राजधानी तोकिए पनि त्यसलाई पुनर्विचार गर्नुपर्ने काँग्रेसका प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको भनाइ छ ।

यस विषयमा असन्तुष्ट सर्वसाधारणले पनि केही दिनदेखि आन्दोलन गरिरहेका छन् ।

प्रदेश राजधानी र नामकरण टुंग्याउन आगामी २७ पुसमा मतदान हुने भएको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेश सभाको दुईतिहाइ मत आवश्यक पर्छ । प्रदेश सभामा नेकपा एक्लैको दुईतिहाइ मत छ ।