
काठमाडौं, कात्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार (भोलि) बेलायत जाने हुनुभएको छ ।
स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जान लाग्नुभएको हो ।
भ्रमणका क्रममा देउवा शनिवार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनुहुनेछ ।
प्रधानमन्त्री देउवाले त्यहाँ रहँदा बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली संघ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अक्टोबर ३१ मा प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा उहाँ सहभागी हुने कार्यक्रम छ । उहाँले भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नुहुने छ ।
प्रधानमन्त्री देउवा असोज १५ गते सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्