
टेकराज अवस्थी
डडेल्धुरा, कात्तिक १२ । डडेल्धुरा प्राकृतिक विपद्का दृष्टिकोणले उच्च जोखिममा रहेको छ । तर पनि विपद्को बेला सरोकारवालाको भूमिका त्यति प्रभावकारी देखिएको छैन ।
यहि कार्तिकमा आएको बेमौसमी अबिरल वर्षाको आपतकालिन विपद्लाई उद्धार, व्यवस्थापन र राहतमा जिल्ला स्थित विपद् सरोकारवाला निकाय बिच तालमेल र समन्वय नहुँदा विपद व्यवस्थापन तथा प्रतिकार्य योजना प्रभावित मात्र भएन ढिलासुस्ती र सर्बत्र विवादको विषय बन्यो ।
विपद्का समयमा मुख्य जिम्मेवार निकायहरु स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षाकर्मी, गैर सरकारी संस्थाको एकद्वार प्रणाली बमोजिम सक्रियता नदेखिए पछि जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना पनि ओझेलमा परेको छ ।
विपद् व्यवस्थापन समितिको मुख्य जिम्मेवार निकाय जिल्ला प्रशासन कार्यालयले आपतकालिन उद्धार र व्यवस्थापनमा सुरक्षाकर्मी परिचालनमा तदारुकता देखाए पनि स्थानीय गैर सरकारी संस्थाहरुको उदासिनता रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
सुरक्षाकर्मी परिचालन र उद्धार तथा व्यवस्थापनमा प्रभावित र पिडित नागरिक एवं जीउधनको सुरक्षामा ध्यान दिएर काम गरेको तर वर्षेनी विपदको क्षेत्रमा अर्बौं खर्च गर्ने गैर सरकारी संघसंस्थाहरु र सामाजिक संस्थाहरुले आफ्नो दायित्व बिर्सेको उहाँले बताउनुभयो ।
यता राहतको क्षेत्रमा काम गर्ने सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखाले पनि सम्पर्कमा आउनेलाई माग अनुसारको विपद सहयोग गरेको भए पनि समन्वय सहकार्यमा जिल्ला संयन्त्रमा रहेका सरोकारवाला निकाय बिच कमजोरी रहेको शाखा सभापति मदनराज चटौतले बताउनुभयो ।
अकल्पनिय रुपमा आएको बेमौसमी वर्षातमा स्थानीय जनताले पूर्व तयारी गर्न नसके पनि संभावित जोखिम र आकस्मिक विपद प्रति आन्तरिक विपद बजेट कार्यान्वयन तथा आकस्मिक बैठक र परिचालनमा डडेल्धुराका स्थानीय तहको पनि उदासिनता देखिएको छ । त्यसैले बिगतमा भएको गल्तीबाट पाठ सिक्दै विपद् जोखिम न्यूनिकरणकोलागि पूर्वतयारी गर्नु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्