१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने विपक्षी गठबन्धनको निर्णय


0
Shares

विराटनगर, कात्तिक १४ । प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सोमबार बस्ने प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेता सहभागी थिए । मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने प्रस्ताव सदनमा पेस गनुभएको थियो ।

तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो । त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए । प्रदेश १ मा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेका ४१ सांसद छन् ।

विपक्षी गठनबन्धनमा ५० सांसद छन् । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका एक सांसद कतै खुलेका छैनन् ।