
काठमाडौं, कात्तिक १५ । वित्तीय पहुँचमा सबैभन्दा अगाडि बाग्मती प्रदेश रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय पहुँचसम्बन्धी प्रतिवेदन अनुसार गत वर्ष बैंक तथा वित्तीय संस्थाको कुल शाखा सबैभन्दा बढी ३४ प्रतिशत बाग्मती प्रदेशमा र सबैभन्दा कम ४ प्रतिशत कर्णाली प्रदेशमा रहेको पाइएको हो ।
बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८ प्रतिशत र कुल कर्जाको ५६ प्रतिशत बढी बाग्मती प्रदेशमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ ।
पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ । सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरुमा उत्साहजनक रुपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हँुदै गएको छ ।
तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्