
काठमाडौं, कात्तिक १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानून व्यवसायीहरुले मंगलबार तेस्रो दिन पनि विरोध जारी राखेका छन् ।
प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको मंगलबार अन्तिम दिन नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।
धर्नामा सहभागी कानून व्यवसायीहरुले प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिए । राजीनामा दिनु नै उहाँको सम्मानजनक बहिगर्मन हुने उनीहरुको जिकिर छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकालाई सिध्याउन खोजेको आरोप लगाउनु भयो । महाअभियोग लगाएर हटाउनु सहज र सम्मानजनक हुन्छ की राजीनामा दिँदा भन्दै उहाँले प्रश्न गर्नुभयो ।
कानून व्यवसायीहरुले न्यायपालिकामा संकट मडाँरिदा पनि राजनीतिक दलहरु मौन बसेको भन्दै असन्तुष्टि जनाएका छन् । बार सचिव ऋषिराम घिमिरेले न्यापालिकामा आगो दन्किँदासमेत दलहरु मौन बस्नु आश्चर्यजनक रहेको टिप्पणी गर्नुभयो ।
बरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायधीश राणाको तीन वर्षको अवधिमा न्यायालयले विचौलियाको काम गरेको आरोप लगाउनुभयो । विश्वास गुमाइसक्नुभएका प्रधानन्यायधीश पदमा बस्न योग्य नभएकाले आफूहरुले राजीनामा मागेको अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयो ।
यस्तै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सक्षम व्यक्तिको हातमा न्यायलयको नेतृत्व रहोस भन्ने आफूहरुको माग रहेको उल्लेख गर्नुभयो । प्रधानन्यायधीश राणाले भने कसैले राजीनामा माग्दैमा नदिने भन्दै सम्मानजनक बहिर्गमन हुनुपर्ने अडान राख्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्