
काठमाडौं, कात्तिक १७ । अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले मुद्दामा सेटिङ गर्ने गरेको जस्ता आरोप लगाउँदै राजीनामा दिनुपर्ने १२ कारण अघिसार्नु भएको छ ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले गरिरहेकोको आन्दोलनमा सम्बोधन गर्दै भट्टराईले पेशी र इजलास गठनमा अनियमितता गरेको, मिडियामा गएर विचाराधीन मुद्दामा बोलेको र राजनीतिक नेताले झैं शक्ति आर्जन गर्न लागेको जस्ता आरोप लगाउनुभएको हो ।
राजनीतिज्ञका मुद्दा आफू र आफूनिकटका न्यायाधीशसँग राखेर बार्गेनिङ गरेको गम्भीर आरोप लगाउँदै भट्टराईले प्रधानन्यायाधीशले नेता बन्न चाहेको पनि बताउनुभयो ।
प्रधानन्यायाधीश राणालाई पदमा बस्ने कानुनी र वैधानिक आधार नभएको भन्दै भट्टराईले राजीनामा दिनुपर्ने १२ कारण रहेको जिकीर गर्नुभयो ।
ती १२ कारणमा, न्यायमा अवरोध सिर्जना गरेको, मुद्दा र न्यायाधीश तोक्ने कुनै पनि पारदर्शी आधार र मापदण्ड तयार नगरी स्वेच्छाचारी ढंगले पेशी तोकिएकोले, न्यायिक विचलनलाई प्रोत्साहन गरेको, सहकर्मीको विश्वास आर्जन गर्न नसकेको, न्यायप्रशासन र न्यायसम्पादन स्वेच्छिक ढंगले सम्पादन गर्न नसकेको छन् ।
यसैगरी, विचौलियाको प्रभाव दबाबलाई हटाउन नसकेको, राजनीतिक दलका नेताको जस्तो पावर पोलिटिक्स गरेको, नियुक्ति र सरूवाको पारदर्शी आधार खडा नगरेको, आर्थिक विचलन र भ्रष्टाचार मौल्याएको, अदालतमा विचाराधीन विषयमा सार्वजनिक सञ्चार माध्यममा टिप्पणी गरेको, स्वार्थ बाझिएका मुद्दाको पनि आफ्नै इजलाशबाट सुनुवाइ गरेको, आफन्त, नातागोता र निकटका व्यक्तिले खुलेआम चलखेल गर्दा पनि त्यस्ता व्यक्तिलाई निरूत्साहित गर्नुको सट्टा प्रोत्साहन गरेको आरोप भट्टराईले लगाउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्