
काठमाडौ, कात्तिक १८ । टी–ट्वान्टी विश्वकप क्रिकेटको जारी खेलमा भारतले पहिलो जित निकालेको छ । यूएईमा बुधबारसम्पन्न सुपर १२ को समूह २ को खेलमा भारतले अफगानिस्तानमाथि जित हासिल गरेको हो । तीन खेलमा भारतको यो पहिलो जित हो ।
पहिलो जित हात पार्नेक्रममा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्यो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा २१० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो ।
अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ४२ रन बनाए भने कप्तान मोहम्मद नबीले ३५ रन बनाए । अफगानिस्तानलाई सस्तैमा समेट्न भारतका मोहम्मद शामीले ३ र आर आश्विनले २ विकेट लिए । जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक एक विकेट लिए ।
भारतका लागि रोहित शर्माले ७४ र केएल राहुले ६९ रन बनाए । यस्तै हार्दिक पाँड्याले ३५ तथा ऋषभ पन्तले २७ रन बनाए । यो जितपछि भारतको सेमिफाइनल पुग्ने सम्भावना जिवितै भएको छ ।
यो समूहबाट ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ भने अफगानिस्तान र न्यूजील्याण्डको समान ४–४ अंक छ । भारत र नामिबियाको २–२ अंक छ । स्कटल्याण्ड भने जितविहीन छ ।
यता, भारतीय क्रिकेट टिमका पूर्व कप्तान राहुल द्रविडलाई भारतीय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । जारी टी २० विश्वकप सकिएपछि रवी शास्त्रीको भारतीय क्रिकेट बोर्डसँगको सम्झौंता सकिएलगत्तै उनको स्थानमा द्रविडले लिने भएका हुन् ।
भारतीय क्रिकेट बोर्डको सल्लाहकार समितिले द्रविडलाई प्रशिक्षक बनाउने निधो गरेको थियो, जसलाई बीसीसीआईले पनि स्वीकृत गरेको हो ।
द्रविड यसअघि नेशनल क्रिकेट एकेडेमीको प्रमुखका रुपमा काम गरेका थिए भने त्यसपछि यू १९ टिम र श्रीलंका भ्रमणका बेला भारतीय टिमको प्रशिक्षक बनेका थिए ।
हाल भारतीय क्रिकेट बोर्डको प्रमुख सौरभ गांगुली छन् । गांगुली र द्रविड मिल्ने साथि मानिन्छन् । द्रविडले आफ्नो पहिलो सिरिज न्युजिल्याण्डविरुद्ध खेलाउने छन् । यो सिरिज नोभेम्बर १७ बाट शुरु हुनेछ । जसमा तीन टी २० र दुई टेष्ट रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्