
काठमाडौं, पुस २७ । निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आइतबार (आज) सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० ले वृद्धि भएको छ ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७०० तोकेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ९०० ले घटेको थियो ।
शुक्रबार छापावाला सुन प्रतितोला ७४ हजार ६०० र तेजाबी सुन प्रतितोला ७४ हजार ३०० मा खरिदबिक्री भएको थियो । पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला चारले वृद्धि भएको छ ।
महासङ्घले आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ८९० तोकेको छ । पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्