१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्तारुढ गठबन्धनको बैठक बस्दै, न्यायालयको विवाद र एमसीसीका विषयमा छलफल हुने


0
Shares

काठमाडौं, कात्तिक २२ । सत्तारुढ दलका शीर्ष नेताको बैठक सोमबार (आज) बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री देउवा एक हप्ता लामो बेलायत भ्रमण सकेर आएपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाले स्वदेश फर्कने क्रममा विमानस्थलमा न्यायालयको विवाद अदालतले नै समाधान गर्ने बताउनुभएको थियो । यस्तै प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने विषयमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आफूले पत्र पठाएर प्रतिबद्धता जनाइसकेको बताउनुभएको थियो ।

प्रधानमन्त्रीको भनाइलाई दाहालले भने खण्डन गर्दै पत्र पठाएको भए पनि पारित गर्ने प्रतिबद्धता नजनाएको दाबी गर्नुभएको थियो । तीन सातादेखि सर्वोच्च अदालतमा गतिरोध भइरहेका बेला बस्न लागेका सत्तारुढ दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।

यही कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कार्यशैली र राजनीतिक नियुक्तिमा भागबण्डा खोजको भन्दै न्यायाधीश र बार एशोसिएसन आन्दोलनमा रहेका बेला सत्तारुढ दलका नेताहरुले न्यायालयको विवाद न्यायालयभित्रैबाट समाधान हुनुपर्ने बताउँदै आएका छन् ।

सत्तारुढ कांग्रेसका संस्थापनइतर नेताहरु रामचन्द्र पौडेल, डाक्टर शेखर कोइराला तथा १२ युवा नेताले प्रधानन्यायाधीशको राजीनामाका पक्षमा अभिव्यक्ति दिए पनि पार्टीका तर्फबाट भने सभापति शेरबहादुर देउवाले न्यायालयको विवाद न्यायलयबाटै समाधान हुनुपर्ने बताउँदै आउनुभएको छ ।