२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


देउवा र पौडेल दुबैले पार्टी हाँक्न नसकेको सिंहको आरोप, थापा भन्छन्–कांग्रेस एक्लै चुनावी मैदानमा ओर्लन्छ

महाधिवेशन केन्द्रित प्रकाशमान–गगन जोडी

0
Shares

सिन्धुली, कात्तिक २२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले पार्टी हाँक्न नसकेको भन्दै १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्नुभएको छ ।

सिन्धुलीमा गरिएको कार्यक्रममा पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दुबैले पार्टी चलाउन नसक्ने भन्दै आफ्नो उम्मेदवारीको पुष्टि गर्न खोज्नुभएको हो ।

चाैंथो प्रयासमा देउवा सभापति त बने पनि पार्टी हाँक्न नसकेको भन्दै सिंहले थप्नुभयो, ‘नेता–कार्यकर्ताले देउवा र पौडेलले पनि पार्टी हाँक्न सक्नुहुन्न भनिरहेका छन् ।’

क्रियाशील सदस्यतामा जतिसुकै धाँधली गरिए पनि महाधिवेशन प्रतिनिधिले उत्तम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्दै सिंहले भन्नुभयो, ‘क्रियाशील सदस्यतामा जतिसुकै धाँधली गरून्, १३ औं महाधिवेशनको नेतृत्वलाई प्रतिनिधिले भोट दिँदैनन् ।’

सोही कार्यक्रममा कांग्रेस नेता गगन थापाले अब हुने निर्वाचनहरुमा गठबन्धन बिनै कांग्रेस प्रतिष्पर्धामा उत्रने भन्दै भन्नुभयो, ‘कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै होइन, रूखबाहेक अन्यत्र कांग्रेसले भोट हाल्दैन ।’

आगामी चैत/वैशाखमा स्थानीय र मंसिरसम्म संघीय चुनाव हुने जानकारी दिँदै नेता थापाले कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न नेता–कार्यकर्तासँग आग्रह गर्नुभयो ।

कांग्रेसलाई पहिलो पार्टी बनाउन अहिलेको मतदाता जोगाउँदै ४३ लाखभन्दा बढी मत थप्नुपर्ने हिसाब थापाको थियो ।

मंसिर २४ देखि २६ गतेका लागि तोकिएको पार्टीको १४ औं महाधिवेशनको मिति अब नसर्ने भन्दै थापाले सक्षम व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन आह्वान गर्नुभयो ।