
काठमाडौं, कात्तिक २३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक गर्न लागिएकामा आपत्ति जनाउनुभएको छ ।
आज गर्न लागिएको उक्त बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ विपरीत भएको भन्दै आपत्ति जनाउनुभएको हो ।
समाजिक सञ्जाल ट्वीटरमार्फत् नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गूटबन्दी भन्दै अवैधको संज्ञा दिनुभएको छ ।
अध्यक्ष ओलीको जिल्लामा लागू हुने प्रावधान सुदूरपश्चिममा किन लागू नहुने प्रश्न गर्दै रावलले लेख्नुभएको छ, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’
सुदूरपश्चिमको ईन्चार्ज रहनुभएका रावलको स्थानमा अध्यक्ष ओलीले माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्टलाई उक्त भूमिका दिएपछि आपत्ति जनाउँदै आउनुभएको छ । एमालेमा माधव नेपाल पक्षका मानिनुहुने रावल पार्टी विभाजन हुने क्षणमा नेपाललाई साथ नदिई एमालेमै बस्नुभएको थियो ।
तर, अध्यक्ष ओलीले रावलको भूमिका खुम्च्याइदिएपछि उहाँ रुष्ट बन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्