९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विदेशी पर्यटकको पहिलो रोजाइ दलित सामुदायिकको होमस्टे


0
Shares

सानेबहादुर नेपाली (रासस)

तनहुँ, पुस २८ । तनहुँको व्यासनगरपालिका–१३ पोखरीभञ्ज्याङस्थित आँपस्वाँरा सामुदायिक होमस्टे (घरबास) मा सन् २०१९ मा करिब २०० बाह्य पर्यटकले घरवासको सुविधा लिएका छन् ।

सदरमुकाम दमौलीबाट करिब पाँच किलोमिटर दूरीमा रहेको नेपालकै पहिलो र नमुना उक्त घरबासमा आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ । भ्रमण वर्ष २०२० मा गत वर्षको भन्दाबढी पर्यटक भित्र्याउने लक्ष्य रहेको आँपस्वाँरा सामुदायिक घरबास व्यवस्थापन समितिले जनाएको छ ।

घरबासमा विशेषगरी अमेरिका, स्वीट्जरल्याण्ड, चीन, जापान, जर्मन अष्टे«लिया र फ्रान्सलगायतका देशबाट पर्यटक आउने गरेका छन् । आन्तरिक पर्यटकको सङ्ख्या भने नगन्य छ । त्यस क्षेत्रका चौबिस घरधुरीका विश्वकर्मा जातिका मानिसले वि.सं २०७३ कात्तिक महिनाबाट सञ्चालनमा ल्याएको उक्त घरबासमा बढीमा एक सय जना पर्यटकलाई व्यवस्था गर्न सकिने क्षमताको रहेको बताइएको छ । यस्तरमा उत्पादन गरिएका जैविक तरकारी, कुखुरा, खसी बोका र कालो सुङगुर नै यहाँको प्रमुख खाना हो ।

घरबास सञ्चालक सबै घरधुरीले आआफ्नै बारीमा तरकारी खेती र पशुपालन गर्दै आएका कारण बजार धाउनुनपरेको समितिका अध्यक्ष रेशम विश्वकर्माले बताए । दलितले सामुदायिक घरबास सञ्चालन गर्न थालेदेखि अन्य समुदायका मानिसले हेर्ने दृष्टिमा परिवर्तन आएको छ भने जातीय विभेद हटाउन सहज बनेको छ । होमस्टेबाट माछापुच्छर, धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खलाका साथै मनोरम हरियाली दृश्य हेर्न सकिने हुँदा पर्यटकको आकर्षण बन्दै गएको छ ।

पर्यटन मन्त्रालय गण्डकी प्रदेशबाट केही दिनअघि आएको अनुगमन टोलीसमेतले उक्त घरबासको अनुगमन गरेको थियो । अनुगमनका क्रममा महत्वपूर्ण सुझाव पाएको विश्वकर्माले बताए । प्रदेश सरकारबाट प्राप्त रु दश लाख र व्यासनगरपालिकाको रु एक लाख गरी रु एघार लाखको लागतमा एक किलोमिटर (सिढी) बाटोमा ढुङ्गा बिच्छ्याउने र स्वागतद्वार निर्माण गरिएको छ ।

व्यासनगरपालिकाले घरबास प्रवद्र्धनका लागि पटकपटक गरी हालसम्म रु. एघार लाख ५० हजार बजेट विनियोजन गरिसकेको छ

। उक्त बजेटबाट घरबासमा स्नानगृह निर्माण, घरको आँगनमा ढुङ्गा बिच्छयाउने, खाट(लो–बेड) खरिदलगायतको कार्य गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए । घरबासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्न बेलुकाको समयमा सांस्कृतिक कार्यक्रम गरिने गरेको समितिका कोषाध्यक्ष मधुमाया विकले बताए ।

यहाँ आउने पाहुनालाई दलित समुदायको रहनसहन, जीवनशैली, पेशा र संस्कृति देखाइन्छ । उनले भने, “घरबास सञ्चालन पश्चात् यहाँका मानिसको आनीबानीमा आमूल परिवर्तन हुनुका साथै स्वरोजगार बन्न सफल भएका छन् ।” समितिले पुख्र्यौली पेशालाई संरक्षण गर्ने उद्देश्यले दलित सङ्ग्रहालय बनाउने भएको छ ।

आफ्नो पुख्र्यौली पेशाका दृश्य र निर्माण गरेका सामग्री सङ्ग्रहालयमा राखेर संरक्षण गर्न लागिएको अध्यक्ष विश्वकर्माले बताए । विशेषगरी विश्वकर्मा जातिको आरन पेशा, नेपालीको जुत्ता सिलाउने, हलो बनाउने र परियारको लुगा सिलाउने पुख्र्यौली पेशा पछिल्लो समय लोप हुँदै गएका कारणले पनि यस्ता सामग्रीको संरक्षण गर्न लागिएको हो ।

घरबासमा आउने पर्यटकलाई जातीय पुख्र्यौली पेशाबारे जानकारी दिँदै यस्ता सामग्री निर्माणको लागि प्रोत्साहन गर्ने गरिएको समितिका कोषाध्यक्ष विकले जानकारी दिए ।