
बैतडी, कात्तिक २५ । राष्ट्रिय जनगणना २०७८ अन्र्तगत बैतडीमा पनि बिहीबारदेखि मूल गणना सुरु भएको छ । अगामी मंसिर ९ गतेसम्म सञ्चालन हुने मूल गणनाको लागि ३१५ जना गणक र ८० जना सुपरीपेक्षक गाउँगाउँमा परिचालन भएका छन् ।
परिचालन गरिएका गणकहरु जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा पुगेर जनगणनाको काम थालेका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
परिचालन गरिएका गणकलाई आवश्यक पर्ने सबै कुरा सिकाएर परिचालन गरिएका हुन् ।
८० वटा प्रश्न सहित गणकहरु घरघरमा पुग्ने र जनगणनालाई प्रभावकारी बनाउन अनुगमन कार्य पनि सँगसँगै थालिएको जिल्ला जनगणना कार्यलयले जनाएको छ ।
गणकहरु प्रश्नावलीसहित घरघरमै गएर सूचना संकलन गर्ने र उनीहहरुलाई सही सूचना दिन पनि सबैसँग आग्रह गरिएको छ । जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउने जनाइएको छ ।
जनगणनाका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा ६५ जना, पाटन नगरपालिकामा ३६ जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौंडी नगरपालिकामा ४० जना खटाइएका छन् । यस्तै सुर्नया गाउँपालिकामा २५ जना, दोगडाकेदार गाउँपालिकामा २८ जना, डिलाशैनी गाउँपालिकामा २८ जना, सिगास गाउँपालिकामा २६ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २१÷२१ जना गणकलाई खटाएको हो ।
जनगणनालाई प्रभावकारी बनाउन जिल्ला जनगणना कार्यालयका साथै जिल्लाका चार ठाउँमा स्थानीय जनगणना कार्यालय समेत सञ्चालनमा ल्याएको छ ।
पाटन नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा स्थानीय जनगणना कार्यालय र जिल्ला जनगणना कार्यालय भित्रै दशरथचन्द नगरपालिकाको स्थानीय जनगणना कार्यालय पनि सञ्चालनमा रहेको छ ।
भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको राष्ट्रिय जनगणनाको पहिलो चरण अन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण कार्य गरिएको थियो । पहिलो चरणमा ४९ हजार ७ सय ६१ परिवार सूचीकृत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्