
काठमाडौं, कात्तिक २६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा प्रकरणले सर्वोच्च अदालत अस्तव्यस्त बनेको छ ।
बीस दिनदेखि सर्वोच्च अदालतमा नागरिकका मुद्दाको सुनुवाई हुन नसकेको छैन भने सर्वोच्च परिसर भिडन्तस्थलका रुपमा परिणत हुँदै गएको छ ।
यसैक्रममा, न्यायाधीशहरुले इजलाश बहिष्कार गर्न नपाउने भन्दै नेपाल बार एशोसिएशनले गरेको आन्दोलनको समेत विपक्षमा रहेको वकीलहरुले भने खाली इजलाशमै गएर बहस गरेका छन् ।
प्रधानन्यायाधीश राणाले तोकेका इजलाश बहिष्कार गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरुको बेञ्चमा पुगेर उनीहरुले सांकेतिक रुपमा बहस गरेका हुन् ।
न्यायाधीश नै उपस्थित नभएको इजलाशमा पुगेर अधिवक्ता स्वागत नेपाललगायतले सांकेतिक बहस गरेका हुन् ।
३ नम्बर बेञ्चमा नेपालले बहस गर्दा बेञ्च नम्बर ४, ६ र ७ मा कृष्ण प्रसाई, अनील उपाध्याय, दीपेन्द्र घिमिरे, श्रीधर न्यौपाने, पृथ्वीनाथ राईलगायतले बहस गरेको सर्वोच्च परिसरबाट हाम्रा संवाददाताले जानकारी दिएका छन् ।
इतिहासमै न्यायाधीश नै उपस्थित नभई गरिएको उनीहरुको बहसलाई सर्वोच्च प्रशासनले भने अभिलेखमा राखेको छ । न्याय मर्न दिनुहुन्न भनेर न्यायाधीश उपस्थित नभए पनि आफूहरुले बहस गरेको नेपालको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्