
नरेन्द्र मान्नधर
काठमाडौं, कात्तिक २८ । नेपाल मण्डल बाग्मती सभ्यताको उपज हो । बाग्मती र विष्णुमतीलगायतको विभिन्न नदी किनारामा सभ्यताको विकास भएको थियो । तर अहिले विकासको नाममा करिडोर निर्माणले सभ्यताका यी धरोहर ढलमा परिणत भएका छन् ।
सामाजिक सञ्जालमा देखिने विष्णुमतीका दृश्यले विगतको बैभव देखाइरहेको छ । दृश्य अहिले एकादेशको कथा बनेको छ । बाग्मती सभ्यताको मेरुदण्ड नदी अहिले ढलमतीमा अनुवाद मात्र भएका छैनन्, विकासको नाममा नदी खुम्च्याइएका छन् । बढ्दो निर्माणले काठमाडौं उपत्यकाका आधा बढी नदी अस्तित्वविहीन बनेका छन् । निर्माणले नदी किनारका ऐतिहासिक घाट, मन्दिर र सत्तलहरुको अस्तित्व समेत नासिएको छ ।
करिडोरले सवारीसाधन आवत जावत सजिलो पारेपनि बचाउन सकिने ऐतिहासिक सम्पदा नामेठ गरेको छ । मन्दिर सारिएको छ भने घाट र सत्तलका पुराना संरचना नष्ट भएको छ । यसको एउटा उदाहरण हो विष्णुमती लिङ्करोड, तपिंतामा रहेको पुष्पलाल स्मृति पार्क । जहाँ ऐतिहासिक पुरानो सत्तल पूर्णनष्ट गरेर पुष्पलाल स्मृति केन्द्रको भवन बनाइएको छ ।
हनुमानको मन्दिर सारिएको छ । बौद्ध चैत्य कुनामा राखेर बेवास्ता गरिएको छ । हेर्दा एक ठूला नेताको नाममा पार्क निर्माण राम्रै देखिन्छ तर पूर्खाले बनाएका महत्वपूर्ण सत्तल नासिएको क्षतिका विषयमा सवै मौन छन् । जुन स्थान पहिले प्रकृतिमैत्री थियो । स्थानीय पार्क बनाए पनि पुरानै सत्तल निर्माण गरेको भए उचित हुने स्थानीय नाति महर्जन तर्क गर्छन् ।
विगतमा हाम्रा पुर्खाले नदीमा बाढी नियन्त्रणका लागि नदीमा फराकिलो किनारा बनाएका हुन्थे तर अहिले वर्षेनी आउने वाढी रोक्ने सामथ्र्य देखिदैन । विकासका काम हुनु सकारात्मक हो तर यसको मतलव पुराना सम्पदाको अन्त्य होइन ।
काठमाडौं उपत्यका इतिहास र संस्कृतिको जीवित संग्रहालय हो । त्यसैले यहाँको विकास भत्काउनु र जोड्नुमा नभएर जोगाउनुमा पनि छ । काठमाडौ उपत्यकाको विकास गर्दा यहाँको माटो सुहाउँदो, सम्पदा र प्रकृतिमैत्री हुनु आवश्यक छ । अरु देशको विकास नमूना यहाँ नक्कल गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो ।
प्रतिक्रिया दिनुहोस्