
काठमाडौं, कात्तिक २८ । धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो ।
खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा धनगढी सफल भयो । पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरिन् । सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले बचाइन ।
ललितपुरकी निर्मला बिकले गोल गरिन् । सम्झना लावतीको प्रहार बाहिरिदा आशा कुस्वर र रजनी थोकरको प्रहार धनगढीकी गोलकिपर उषा नाथले बचाईन् । पेनाल्टी अघि प्रतिस्पर्धात्मक बनेको फाइनलमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा ललितपुर उपाधिबाट बन्चित भएको हो ।
उपाधिसँगै धनगढीले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको ललितपुरले ३ लाख प्राप्त गरेको छ । यस्तै विजेता धनगढी र उपविजेता ललितपुर राष्ट्रिय लिगमा समेत छनोट भएका छन् । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्