
काठमाडौं, माघ २ । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई २१ दिनभित्र हाजिर हुन आउन काठमाडौं जिल्ला अदालतले पूर्जी जारेको छ ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंले आफ्नो मानहानी गरेको भन्दै दायर गरेको मुद्दामा अदालतले लिखित जवाफसहित हाजिर हुन आउन पूर्जी जारी गरेको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन डा. गिरीले २० करोड रुपैयाँ घुस मागेको भन्दै प्रसाईंले पत्रकार सम्मेलन गरेर आरोप लगाएका थिए । प्रसाईंको आरोपविरुद्ध डा. गिरी अदालत र प्रहरीमा उजुरी लिएर पुगेका थिए ।
प्रसाईंको आरोपका कारण आफ्नो गाली बेइज्जती र मानमर्दन भएको भन्दै डा. गिरीले उजुरी दिएपछि अदालतले प्रसाईंलाई लिखित जवाफ लिएर आउन भनेको हो ।
सञ्चालक प्रसाईंले पनि डा. गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा भ्रष्टाचार आरोप लगाउँदै उजुरीदर्ता गरिसकेका छन् ।
उता भक्तपुर प्रहरीले पनि प्रसाईंविरुद्ध उजुरी आएपछि उनको खोजी थालेको जनाएको छ । प्रहरी प्रसाईंलाई खोज्दै भक्तपुरस्थित निवास पुगे पनि नभेटिएको जनाइएको छ ।
डा. गिरीले आफू असुरक्षित रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्