१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अटेर गरी विज्ञापन गर्ने सञ्चार माध्यमलाई कारबाही हुन्छ : बोर्डका अध्यक्ष हुमागाईं


0
Shares

काठमाडौं, मंसिर १ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चार माध्यमहरुलाई कारबाही गरिने बताउनु भएको छ ।

अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चार माध्यमहरुमा मदिराजन्य पदार्थहरुको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानून बमोजिम कारबाही गरिने बताउनु भएको हो ।

अध्यक्ष हुमागाईंले बोर्ड अहिले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरुलाई पत्राचार गर्ने तयारीमा रहेको समेत बताउनुभयो । अध्यक्ष हुमागाईंले ऐनले मदिरा तथा सुर्तिजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताउनुभयो ।

यता राष्ट्रिय टेलिभिजन प्रशारक संघले पनि सार्वजनिक सञ्चार माध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा बिरोध गरेको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाउनुभयो । अध्यक्ष अधिकारीले कानूनले वर्जित गरेका काम गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्न माग गर्नुभयो ।

अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताउनुभयो । उहाँले कानूनमा भएको कुरालाई हुबहु लागू गराउनु पर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरुले बढी चासो दिनुपर्ने बताउँदै भएको कानूनलाई लागू गराउनु पर्ने बताउनुभयो । अध्यक्ष अधिकारीले सार्वजनिक सञ्चार माध्यमहरुमा मदिरा लगायत कुनै चिजहरुको विज्ञापन गर्ने कुरा कुनै किसिमले उचित नहुने पनि बताउनुभयो ।