१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राहदानी विभागले सार्वजनिक गर्‍यो इ-पासपोर्ट, सत्यमोहन जोशीलाई पहिलो इ-पासपोर्ट हस्तान्तरण


0
Shares

काठमाडौं, मंसिर १ । राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ ।

बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो ।

कार्यक्रममा महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउनुभयो । उहाँले संसारमा चलेका राहदानीहरुमा विद्युतीय राहदानी सबै भन्दा पछाडिको रहेको बताउनुभयो ।

महानिर्देशक अर्यालले नयाँ सार्वजनिक गरिएको राहदानी ३४/६६ पृष्ठको रहेको र अब ट्राभल गर्नेहरुको पेज सकिएर राहदानी विभागमा धाइरहनु पर्ने समस्या समाधान हुने बताउनुभयो । उहाँले अहिले नेपालमा इ पासपोर्ट बनाउन ठूला दुई वटा मेसिन रहेको भन्दै आवश्यक राहदानी बनाउन समस्या नपर्ने बताउनुभयो ।

अब अनलाइनबाट नैै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने बताउँदै महानिर्देशक अर्यालले अब भीडको व्यवस्थापनमा सहज हुने बताउनुभयो । उहाँले राहदानीलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको पनि बताउनुभयो ।

बुधबारदेखि केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ । यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिँदै आएकोमा अब विद्युतीय पासपोर्ट पनि ६ वटा रंगमा जारी हुनेछ ।

सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ । मंसिर २ गतेदेखि सीमित सेवाग्राहीलाई विद्युतीय चिपमा आधारित पासपोर्ट वितरण हुनेछ । त्यस्तै मंसिर १५ गतेदेखि सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्नेछन् ।

व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।