
काठमाडौं, मंसिर २ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गर्नुभएको छ ।
स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गर्नुभएको हो ।
खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताउनुभयो । उहाँले फाइजरको खोप ल्याउन भुक्तानीका लगि सरकारले निर्णय गरिसकेको पनि बताउनुभयो । मन्त्री खतिवडाले अबको एक महिनाभित्र नेपालको हरेक भागमा खोपको शुरुवात गर्ने बताउनुभयो ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालीलाई कोरोनाको भ्याक्सिन सहयोग गर्न पाएकोमा खुशी रहेको बताउनुभयो । उहाँले फाइजर खोपले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्ने र कोरोनाबिरुद्धको लडाइँमा अहोरात्र खटिएका डाक्टर, नर्स र हेल्थ वर्कर्सहरु नै वास्तविक हिरो भएको बताउनुभयो ।
मन्त्री लूले नेपाललाई आगामी दिनमा पनि सहयोग गर्ने बताउँदै नेपालले मागेको कोरोनाको खोप चाँडै उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक आठ गते काठमाडौं आएको थियो ।
प्रतिक्रिया दिनुहोस्