२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


हस्तकलासँग सम्बन्धित करको समस्या समाधान हुन्छ : प्रधानमन्त्री देउवा


0
Shares

काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने बताउनुभएको हो । उहाँले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण बढ्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले हस्ताकलाको मौलिक सिप नयाँ पुस्तामा हस्तान्तरणका लागि तालिम दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको प्रचार भएको बताउनुभयो ।

मन्त्री आलेले वार्षिक ६ अर्ब रुपैयाँ बराबरको मुल्यका हस्तकला विश्वका ८० देशमा निर्यात भएको बताउनुभयो । आन्तरिक बजारमा २ अर्ब रुपैयाँ बराबरको कारोबार गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब ७ लाखको संख्यामा रोजगारी सिर्जना भएको उहाँले जानकारी दिनुभयो । १८ औँ हस्तकला व्यापार मेला आगामी ५ गते सम्म चल्नेछ ।