
अक्कल कुँवर
काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रक्रिया चलिरहेको छ । मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरु प्यानल निर्माण र मतदाताको लेखाजोखा गर्न थालेका छन् । संस्थापनपक्षले महाधिवेशन केन्द्रीय तयारीलाई तीब्र पारिरहँदा इतर पक्षमा सभापतिको उम्मेद्वारी भ्यागुताको धार्नीझैं देखिएको छ ।
पार्टी सभापति शेरवहादुर देउवालाई नेतृत्वबाट विस्थापित गर्ने साझा एजेण्डा बनाएको कांग्रेसको संस्थापन इतर पक्षलाई आफ्नो समुहबाट सभापतिको निर्विवाद उम्मेद्वार तय गर्न फलामको च्यूरा चपाउन सरह भएको छ । थप एक कार्यकालका लागि पार्टीको नेतृत्वमा दोहोरिने घोषणा गरेका सभापति देउवाले तयारीको लागि प्रदेशगत रुपमा आफु निकट नेताहरुलाई परिचालन गरिसकेका छन् । तर, इतर पक्ष भने उम्मेद्वार चयनका विषयमा रुमल्लिएको छ । इतर पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशन सुरु हुनुअघि पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी इतर समूहबाट साझा उम्मेद्वार दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सर्वमान्य उम्मेद्वार चयन गर्न त्यसपछि पटक–पटक सामूहिक छलफल भएपनि परिणाम आउन सकेन । प्रदेशसभा क्षेत्रीय अधिवेशन अघि इतर समूहबाट सभापतिको साझा उम्मेद्वार चयन गर्ने प्रयास पुनः असफल भयो । साझा उम्मेद्वारमा सहमति जुट्नुको सट्टा इतर समूहमा रहेका नेतृत्वका आकांक्षीहरुबीच व्यक्तिगत लाञ्छना लगाउने प्रतिस्पर्धा चलेको राजनीतिशास्त्रका प्राध्यापक मिनेश घिमिर बताउनुहुन्छ ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा लामो समय संवादहीनतामा गुजारेको इतर समूहका नेताहरुले सामूहिक र द्विपक्षीय छलफल शुरु गरेका छन् । तर आकांक्षीहरुबीच अडानमा टस न मसको अवस्था कायमै भएको घिमिरे बताउनुहुन्छ । इतर समूहमा नेतृत्वका लागि साझा उम्मेद्वार तय हुन नसके अहिलेकै अवस्थामा वर्तमान नेतृत्व नै दाहोरिने विश्लेषण हुन थालेको छ ।
संस्थापन पक्षबाट सभापति देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ र इतर समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा उम्मेद्वारी दावी गरिरहेका छन् । युवा नेता कल्याण गुरुङले पनि यसअघि नै सभापतिको दावेदारी प्रस्तुत गरिसकेका छन् । नीतिभन्दा नेतृत्वमा जोड दिइरहेका उनीहरु मध्ये जो चुनिएपनि एजेण्डाले नजित्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्