१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित हस्तीहरू


0
Shares


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी छ ।

कतिपय जिल्लामा मतगणना जारी छ भने कतिपय जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । ७७ मध्ये २५ जिल्लामा जिल्ला अधिवेशन समेत सकिएको छ ।

अधिवेशन सकिएका २५ जिल्लामा निर्वाचित सभापतिहरूमध्ये १३ जना प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षका छन् भने ११ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका छन् । १ जना भने कतै पनि खुलेका छैनन् । मंसिर १० गतेसम्म सबै जिल्लाको अधिवेशन सक्ने कांग्रेसको कार्यतातिका छ ।

प्रतिनिधि चयनको प्रक्रिया जारी रहँदा चर्चित नेताहरू प्रतिनिधि छनोटमै पराजित भएका छन् । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल पनि प्रतिनिधि आउन सक्नुभएन । पौडेल र बागलुङ कांग्रेस सभापति दिपेन्द्र थापा बागलुङ १ नम्बर क्षेत्रबाट पराजित हुनुभयाे ।

दुवै जना सभापति देउवा पक्षका हुन् । उता कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरा कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ ।

त्यसैगरी कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि सफलता हात परेन । उहाँ महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभयाे । यस्तै, पूर्वसांसद बलदेव बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभयाे ।

चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ ।

सुर्खेत कांग्रेसका सभापति कमलराज रेग्मी सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा केन्दीय प्रतिनिधि आउन सक्नुभएन । त्यस्तै, पूर्वमन्त्री शिवराज जोशी पनि पराजित हुनुभयाे ।

कांग्रेस भातृ संगठनका केही नेता पनि प्रतिनिधि आउन सकेनन् । नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना, नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, पूर्वमहामन्त्री सरोज थापा पनि पराजित भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।