२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कोरोनाका कारण बढ्यो महिला हिंसा


0
Shares

काठमाडौं, मंसिर ९ । कोरोनाको महामारीका कारण महिला हिंसामा वृद्धि भएको पाइएको छ ।

विश्वका विभिन्न १३ वटा देशमा गरेको अध्ययनमा महामारीका कारण महिला हिंसाका घटना अत्यधिक बढेको पाइएको हो ।

संयुक्त राष्ट्रसङ्घले हालै गरेको एक अध्ययनमा विश्वका अरु देशमा पनि यो महामारीका कारण आफ्ना घर र सार्वजनिक स्थलमा पनि यस्ता घटनामा वृद्धि भएको पाइएको उक्त अध्ययनले देखाएको छ ।

ती १३ देशमा गरेको सर्वेक्षणबाट महिलाले महामारीका कारण घरमै बस्नुपर्दा तथा सार्वजनिक स्थानमा समेत आफूहरुमाथि हिंसा बढेको पाइएको उनीहरुले बताएका थिए । यो महामारीका कारण विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको थियो र नागरिकलार्ई घरभित्रै बस्न भनिएको थियो ।

तर घरमा बस्दाको अवस्थामा महिलामाथिको हिंसा झनै बढ्ने गरेको सो अनुसन्धानबाट पाइएको हो । सर्वेक्षणमा समेटिएका महिलामध्ये आधाजतिले सार्वजनिक स्थान र घरमा पनि कुनै न कुनै प्रकारको हिंसाको महसुस गरेको बताएका थिए । एक चौथाई महिलाले त आफूहरु घरमै असुरक्षित रहेको भन्दै व्यथा पोखे ।

उक्त अनुसन्धानले यो महामारीका समयमा भएका घरेलु हिंसाको यथोचित मात्रामा वास्तविकता बाहिर आउन नसकेको पनि देखाएको छ । घरेलु हिंसाका घटना अत्यन्त कममात्रै जानकारीमा आउने गरेको र अहिले झन महामारीपछिसबैलाई घरभित्रै बस्न भनेको समयमा यसको रिपोर्टिङ अत्यन्त न्यून हुने गरेको उक्त अनुसन्धान रिपोर्टमा जनाइएको छ ।