
काठमाडौं । नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन उद्घाटनको दिन सार्वजनिक सवारी आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले कुनै छलफल नगरेको जानकारी दिएको छ ।
महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराइले सवारी साधन बन्द गर्नेबारे चितवन प्रशासनले एमालेसँग कुनै छलफल नगरेको भन्दै चल्न पाउनुपर्ने बताउनुभयो ।
एमालेको १० औं महाधिवेशनको उद्घाटन शुक्रबार नारायणी नदी किनारमा हुँदैछ । उद्घाटनका दिन ५ लाख कार्यकर्ता चितवन उतार्ने एमालेको दाबी छ ।
सचिव भट्टराइले उद्घाटन समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा लगायत अन्य राजनीतिक दलका नेताहरु सहभागी भएर सम्बोधन गर्ने जानकारी पनि दिनुभयो । महाधिवेशनमा १०३ जना पर्यबेक्षकको सहभागिता रहनेछ ।
महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरु चितवन पुग्न शुरु भएको छ । महाधिवेशन उद्घाटन पछि प्रतिनिधि र पर्यबेक्षकलाई खाना र बस्नको व्यवस्था मिलाइएको पनि सचिव भट्टराइले बताउनुभयो ।
चार देशका विदेशी पाहुना आउने
यसैबीच एमालेले १० औँ राष्ट्रिय महाधिवेशनमा ८ मुलुकका राजनीतिक दलका नेताहरु सहभागी हुने जानकारी दिएको छ ।
बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका १५ जना नेताहरू सहभागी जानकारी दिनुभयो । चीनलगायत अन्य २५ देशका दलहरूले भने महाधिवेशन सफलताको लागि शुभकामना सन्देश पठाएका पनि भट्टराइले बताउनुभयो । कोरोनाका कारण धेरै देशले शुभकामना मात्रै पठाएका भट्टराइको भनाई छ ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पनि एमालेले जानकारी दिएको छ । एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उद्घाटासत्र नारायणी नदि किनारमा हुनेछ भने बन्द सत्र सौराहामा हुँदैछ।
प्रतिक्रिया दिनुहोस्