
नारायणी लामिछाने
काठमाडौं, मंसिर ९ । नेपालमा राजनीतिक, व्यापारिक र दाताको दबाबका आधारमा बजेट बनाइएका कारण पूँजीगत खर्च हुन नसक्ने र आयोजना पनि पुरा हुन नसक्ने स्थायी समस्या छ । कोरोनाले शिथिल अर्थतन्त्र पुर्नउत्थानका र सुधारमा लाग्नु भन्दा पनि अर्थमन्त्री स्वयंले नै समस्या छ भन्न थालेपछि अझै अर्थतन्त्र संकटोन्मुख दिशातिर जाने देखिएको छ । रेमिट्यान्स खुम्चिनु, बैंकमा तरलता अभाव बढ्नु, आयात झन्झन् कहालीलाग्दो अवस्थामा चुलिदै जानुले मुलुकको आर्थिक अवस्थामा एकैपटक थुप्रै प्रश्न जन्मिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्र साँघुरिँदै जाँदा चालु खर्च धान्न सक्ने अवस्था नरहेको बताउँदै आउनु भएको छ । बजेट र बजेट प्रणाली नै समस्याग्रस्त रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले संरचना नै परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय व्यापार घाटाको आकार बढ्नु, बजारमा तरलता कायम रहनु तथा रेमिट्यान्समा समेत आएको कमी अर्थतन्त्र शिथिल बनेका बेला अर्थमन्त्री स्वयंमले बजेट प्रणाली नै समस्याग्रस्त रहेको बताउनु मुलुकको अर्थतन्त्र बिरामी भएको छनक हो ।
अर्थमन्त्री शर्माले भने जस्तै के, बजेट प्रणाालीमै भएको समस्याका कारण अर्थतन्त्र संकटोन्मुख बन्दै गएको हो त ? भन्नेमा प्रा.डा. दिलनाथ दंगालले अर्थतन्त्र संकटोन्मुख बन्दै भएको बताउनुहुन्छ ।
भन्सार विभागको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म नेपालको व्यापार घाटाले ५ खर्ब नाघेको छ । नेपालको व्यापार घाटा गत वर्षको तुलनामा यस वर्ष करिब ५७ प्रतिशतले बढेको हो । पछिल्लो समय रेमिटयान्समा कमी आएको छ भने तरलता अभावका अधिकाशं वाणिज्य बैंकहरु सहुलियत कर्जा समेत वितरण गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै आएका छन् । यता १० प्रतिशत मासिक पुँजीगत खर्च पु¥याउने अर्थमन्त्रीको भनाईलाई ४ प्रतिशत पुँजीगत खर्चले गिज्याइरहेको छ ।
यस्तै अर्काेतिर बेमौसमी बालीले धानमा परेको प्रभावका कारण ५ मेट्रिक टन बढि धान आयात गर्नुपर्ने बाध्यता छ । नेपालको आम्दानीको प्रमुख स्रोत राजस्व संकलन हो । पछिल्लो समय राजस्व संंकलनमा सुधार त भएको छ तर नेपालको व्यापार धान्न नसक्ने अवस्थामा रहेको अर्थविद्ध दंगल बताउनुहुन्छ ।
यता, राष्ट्र बैंकले पनि मुल्यवृद्धि साढे ६ प्रतिशतसम्म पुग्न सक्ने बताइरहेको छ । जबकी अहिले हामी साढे ४ प्रतिशत मूल्यवृद्धि खेपिरहेका छौं । कोरोनाका कारण आर्थिक वृद्धिद्धरको लक्ष्य हाँसिल गर्न कठिन अवस्थामा रहँदा अर्थमन्त्रीले आर्थिक क्रियाकलाप अघि बढाउन सहजीकरणको आवश्यकता देखिएको छ । अर्थमन्त्री मुलुकको अर्थतन्त्रको जहाज हाँक्ने सारथी हो । उनको बोलीमा देशको आर्थिक अवस्थाको ऐना देखिन्छ । त्यसैले यस्तो प्राविधिक विषयमा भावनात्मकभन्दा काम बोल्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्