
काठमाडौं, मंसिर १० । नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
दोस्रो चरण अन्र्तगत आज भएको खेलमा सातदोबाटाले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो । तीन पटकको च्याम्पियन थ्री स्टारलाई पराजित गर्न सातदोबाटोका सुदिप गुरुङले निर्णायक गोल गरे ।
सुदिपले खेलको २९ औं मिनेटमा निर्णायक गोल गरे । मार्टिन्स अजयीले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट सुन्दर गोल गरे ।
त्यसपछि दुबै टिमबाट गोल हुन सकेन् । खेलको म्यान अफ दि म्याच सातदोबाटोका सुदिप गुरुङ चुनिए । यस जितसँगै सातदोबाटोले २ खेलमा ४ अंक जोडेको छ ।
सातदोबाटो लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
थ्री स्टारको यो पहिलो हार हो । थ्री स्टार ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । आजै हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्