
पोखरा, माघ ६ । धेरै हिउँ जमेकाले हिमपहिरोमा परी अन्नपूर्ण पदयात्रा क्षेत्रमा हराइरहेका सातजना व्यक्तिहरूको खोजी गर्न निकै कठिन भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताएका छन् ।
गत शुक्रवार गएको हिमपहिरोका कारण अलपत्र परेका एक सयभन्दा बढी पर्यटक र अन्यको उद्धार गरिए पनि चार कोरियाली र तीन नेपालीको अवस्था अज्ञात छ ।
कास्की जिल्लाका प्रहरी प्रमुख दानबहादुर कार्कीले बाक्लो गरी जमेको हिउँका कारण खोजी कार्य अघि बढाउन नसकिएको बताए । उनले सोमबार बिहानै नेपाली सेनाको हेलिकप्टर घटनास्थल नजिकै पुगे पनि बस्न नसकेर फर्किएको जानकारी दिए ।
प्रहरी प्रमुख कार्कीले हराएकाहरू हिउँमा पुरिएको अनुमान गरिएको क्षेत्रमा जमेको हिउँ नपग्लिएसम्म उद्दार कार्यमा कठिनाइ रहिरहने बताए ।
हराएका व्यक्तिहरू हुनसक्ने ठानिएको खोल्सोजस्तो स्थानमा बाक्लो हिउँ जमेको अधिकारिहरूले जनाएका छन् ।
ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार सोमबार बिहान सेनाको हेलिकप्टरमा पनि केही व्यवसायीहरू गएर त्यस क्षेत्रको अवलोकन गरेर आएका छन् ।
प्रतिक्रिया दिनुहोस्