२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्व नयाँ भेरियन्टको त्रासमा, नेपाली राजनीतिक दलहरु महाधिवेशन गर्ने प्रतिस्पर्धा


0
Shares

प्रज्ञा तिमल्सीना

काठमाडौं, मंसिर १२ । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टले विश्वलाई आतंकित बनाइरहँदा यहाँका राजनीतिक दलमा एकपछि अर्को मानवसागर भेला गर्ने प्रतिस्पर्धा चलिरहेको छ । मास्क र सामाजिक दूरीलाई जीवनकै अभिन्न अंग बनाउन चिकित्सकले सचेत गराइरहँदा देशका प्रमुख राजनीतिक दलहरुमा देखिएको गतिविधिले चिन्ता बढाएको छ ।

एमालेले चितवनको नारायणी किनारमा लाखौं मानिसको मानवसागर ओरालिरहँदा विश्व नयाँ भेरियन्टको कोरोना त्रासबाट चिन्तित छ । महाधिवेशनका नाममा मान्छे भेला गर्ने प्रतिस्पर्धा अन्तिम नभएर प्रारम्भ हो । अबको तीन, चार दिनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरका कार्यकर्ता बटुलेर नेता छान्दैछ ।

यही महिनाको अन्तिममा काठमाडौंमै कांग्रेसका देशभरिकैै हजारौं कार्यकर्ता भेला हुँदैछन् । यही मेसोमा पुस ११ देखि माओवादीले महाधिवेशनकै नाममा भीडभाड जम्मा गर्दैछ । त्यसपछि स्थानीय निकायको चुनावले देशैभरिको जनजीवन प्रभावित हुनेछ । यसले प्रजातान्त्रिक अभ्यास फस्टाउँछ भन्ने राजनीतिक विश्लेषण होला । तर कोभिड संक्रमणको दृष्टिले मानवभीड सर्वाधिक ठूलो शत्रु हो ।

खोप लगाएकै भरमा लापर्वाही गर्ने छूट कसैलाई नभएको विज्ञहरु बताउँछन् । हाल सामान्य अवस्था जस्तो गतिविधि बढ्दै जानु घातक बन्न सक्ने संक्रामक रोग विशेषज्ञ डा. शेरवहादुर पुनको ठहर छ ।

कोरोना संक्रमण फैलिने राम्रो वातावरण भनेको भीडभाड नै हो । पहिलो र दोस्रो लहरमा यही विषय प्राथमिकतामा नराखिदा स्थिति नियन्त्रण वाहिर पुगेको थियो । भाइरसको फैलावटलाई हेरेर नेपालले यस्ता क्रियाकलापलाई रोक्नु पर्ने विज्ञहरुको सुझाव छ ।