
मालती घोरासैनी
काठमाडौं, मंसिर १२ । गोंगबुको बसपार्क बन्नुअघि मुलुककै स्थापित रत्नपार्कको बसपार्क अस्तित्वविहीन बनाइएपछि यात्रुले आवत जावतमा सकस व्यहोर्नुपरेको छ । देशकै सर्वाधिक जनघनत्व र आवत जावत रहेको ठाउँमा न बसपार्क छ, न वैकल्पिक व्यवस्था नै । न पुरानो बसपार्क कहिले बन्छ भन्ने जवाफ कसैसँग छ । बेथितिको यो मारले सवारी चालक र यात्रु प्रत्यक्ष मारमा परेका छन् ।
काभ्रे कोसीपारि घर भएका ७६ वर्षीय चुडाप्रसाद चौलागाई बसपार्क फेला पार्न नसक्दा दिक्क हुनुहुन्छ । बनेपा पुग्न हतारो गरेका चौलागाईले रत्नपार्क आरएनएसीलाई एक फेरो लगाएपछि मात्रै बनेपा जाने बस फेला पार्नुभयो । तर चौलागाईले खर्चिएको करिब २ घण्टा समयको जिम्मेवारी कस्ले लिने ? कस्ले सुन्छ यो गुनासो ?
बसपार्क फेला नपर्दा धेरै भौतारीएको घुम्दा घुम्दै हैरान भएको चौलागाई बाताउनुहुन्छ । यो यात्रुको पीडा सम्बन्धी निकायले बुझ्न ति वृद्ध चौलागाईको आग्रह छ ।
चुडाप्रसाद जस्तै ६६ बर्षीय कृष्ण बहादुर श्रेष्ठ गन्तव्य पुग्ने बस पर्खिएर बसिरहनुभएको छ । बसपार्क खोज्ने चक्करमा लामो समयसम्म भौतारिँदा बुढो शरिरले कष्ट पाईरह्यो । तर गन्तव्यको बस भेट्न अलमल कायमै छ ।
विगत ६ बर्षदेखि पुरानो बसपार्क खुल्लामञ्चमा सारिएको थियो । गत साउन महिनाबाट खुल्ला मञ्चबाट बसपार्क हटाएसँगै उपत्यकामा बसपार्कको अभाव खड्कीरहेको छ । यहि अभाव कम गर्न पिक एण्ड ड्रपको अवधारणा ल्याइएको काठमाडौ महानगरपालिका प्रवक्ता ईश्वरमान डङगोल बताउनुहुन्छ ।
महानगरले सुरु गरेको पिक एण्ड ड्रप न प्रभावकारी हुन सकेको छ न यात्रु र चालकले सहज अनुभुत गर्न सकेका छन् । कतै सवारी साधन रोक्यौ भने ट्राफिक प्रहरीले चिट काट्ने भएकाले खाना खानदेखि शौचालय जान पनि समस्या भएको चालकहरुको गुनासो छ । त्यसैगरी यात्रुपनि सवारी चड्ननै ठूलो समस्या चएको बताउछन् ।
वृद्धबृद्धा, बालबालिका र अशक्त व्यक्तिका लागि बसपार्कसम्म पुग्नु सक्नु नै चुनौतीपूर्ण छ । त्यसमा पनि सरकारले कुनै निश्चित स्थानमा बसपार्क निर्माण गर्न नसक्दा यात्रुमा झनै समस्या थपिएको छ । तसर्थ शिघ्र बसपार्क निर्माण गरी यात्रुलाई सजिलो बनाउने तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्