
धादिङ, माघ ७ । धादिङको नीलकण्ठ नगरपालिका–८, ज्यामिरे भञ्याङमा एक मिनिट्रक दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
मंगलबार ज्वालामुखी गाउँपालिका–४, ढोलामण्डलीको दर्शन गरेर फर्कंदै गरेका स्थानीय चढेको ग१ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा सातजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीकाअनुसार ६ जनाको घटनास्थलमा र एकजनाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रकमा करिब ४५ जना यात्री सवार रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका यात्री सुरेश गुरुङकाअनुसार मदिराले लट्ठ चालकले तीव्रगतिमा गाडी चलाउँदा उक्त दुर्घटना हुन पुगेको हो ।
प्रत्यक्षदर्शी विशाल अधिकारीकाअनुसार तीव्रगतिका कारण आइचर दुर्घटना भएको हो ।
यात्रीसँगै चालक गम्भीर घाइते छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका १५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको एसपी रेग्मीले बताए ।
अरु घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्