८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमाले कार्यकर्ताले पूर्व माओवादी रोजे, एमालेकै नेतालाई पत्याएनन्


13
Shares

काठमाडौं । चितवनमा भएको १०औं महाधिवेशनमा एमाले कार्यकर्ताले आफूसँगै काम गरेका पुराना नेता भन्दा पूर्व माओवादीका नेतालाई पत्याएर पदाधिकारीका विभिन्न पदमा निर्वाचित गरेका छन् ।

एमाले कार्यकर्ताले पार्टीमा लामो समयदेखि दुःख गर्दै आएका नेताहरू घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीलाई नरोजेर पूर्व माओवादी नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई पार्टीमा स्थापित गरेका छन् ।

चितवनमा मंगलबार सम्पन्न एमालेको १०औं महाधिवेशनले बादललाई उपाध्यक्ष, रायमाझी र भट्टलाई सचिवमा निर्वाचित गरेको छ । जबकी उपाध्यक्षमै उम्मेदवारी दिनुभएका घनश्याम भुसाल कार्यकर्ताको रोजाइमा पर्नुभएन ।

६ वटा उपाध्यक्ष पदका लागि विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ र घनश्याम भुसाल गरी ७ जनाको उम्मेवारी परेको थियो । तर, भुसाल बाहेक अरु सबैले निर्वाचित भए । पौडेलले १८५६, शाक्यले १९७६, ज्ञवालीले १८४२, पाण्डेले १९२५, नेम्वाङले १८६५, र बादलले १७६८ मत ल्याउँदा भुसालले भने ७२५ मत मात्रै ल्याए ।

त्यसैगरी ७ जना सचिव पदका लागि रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टंक कार्की र भीम आचार्य गरी ९ जनाको उम्मेदवारी परेको थियो । ती मध्ये कार्की र आचार्य पराजित हुनुभएको छ ।

महासेठले १५१३, विश्वकर्माले १८००, रायमाझीले १७००,भट्टले १७०४, भट्टराईले १९६४, विष्टले १९७६, र अर्यालले १८०० मत ल्याएर विजयी हुँदा पराजित कार्कीले ५ सय र आचार्यले १३ सय मत प्राप्त गर्नुभयो ।