
काठमाडौं, मंसिर १५ । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका मध्ये ७ जनाको अन्तर्वार्ता लिने भएको छ ।
क्यानको पाँच सदस्यीय छनौट समितिले अन्तिम चरणमा ७ प्रशिक्षकको अन्तर्वार्ता लिन लागेको हो ।
यसअघि क्यानले १५ जनाको अन्तर्वार्ता लिने तयारी गरेको थियो । तर, छनौट समितिले सर्ट लिस्ट गर्दै ७ जनाको अन्तर्वार्ता लिने निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले जानकारी दिनुभयो ।
सर्ट लिस्टमा परेका ७ प्रशिक्षकको अनलाइन मार्फत अन्तर्वार्ता लिइनेछ । क्यानले कार्यवाहक सचिव मल्लको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरेको थियो ।
समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । समितिका अन्तराष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधि पनि रहेका छन् ।
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको थियो । क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ । ओमानमा भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।
प्रतिक्रिया दिनुहोस्