
काठमाडौं, मंसिर १५ । निर्वाचन कार्यालय सिन्धुपाल्चोकले मतदाता नामावली संकलनलाई तीब्रता दिएको छ ।
फोटोसहितको मतदाता नामावली संकलनलाई तीव्रता दिंदै पालिकास्तरमै दर्ता अभियान सञ्चालन गर्ने भएको हो ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले बुधबार गरेको सर्वपक्षिय भेलामा जिल्लाका सबै पालिकामा मंसिर १७ गतेबाट नै मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद गौतमले जानकारी दिनुभयो ।
मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सम्वन्धीत पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रसहित व्यक्ति स्वयम् उपस्थित हुनु पर्ने र बसाईसराईगरि आएका कोही भए बसाईसराईको प्रमाणपत्र वा विवाह भइ आएको र सोही स्थानमा दर्त गर्न चाहेमा विवाह दर्ताको प्रमाणप्रत्रसहित उपस्थित हुनु पर्ने अधिकारी गौतमले जानकारी दिनुभयो ।
दुई चरणमा संकलन हुने सो कार्यक्रम अन्तर्गत पहिलो चरण अन्तर्गत मंसिर १७ गतेदेखि २८ गतेसम्म दस दिनका लागि हुने छ । यस चरण अन्तर्गत जिल्लाका हेलम्बु, पाँचपोखरी थाङपाल,बलेफी, त्रिपुरा सुन्दरी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा सञ्चालन हुने छ भने दोस्र चरण अन्तर्गत मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म जिल्लाको इन्द्रवती, जुगल, लिसंखुपाखर, सुनकोसी, भोटेकोसी गाउँपालिका र मेलम्ची नगरपालिकामा हुने छ ।
अधिकारी गौतमका अनुसार फोटोसहितको नामावलीमा हालसम्म नमावली दर्ता नभइ छुट भएकाले मात्र नामावली दर्ता गर्न सकिने छ ।
यसअघि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली दर्ता हुँदै आएको र यस अवधिमा पनि निरन्तरण भइरहने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्