१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काष्ठमण्डपको पुनर्निर्माण सकियो, एउटै काठबाट बनेको इतिहास समाप्त


26
Shares

काठमाडौं, मंसिर १७ । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गरी काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा गरेको हो ।

बि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठ काष्ठमण्डप बनाउन प्रयोग गरिएको समितिका अध्यक्ष तथा वागमती प्रदेशका सांसद राजेश शाक्यले बताउनुभयो ।

अध्यक्ष शाक्यका अनुसार अब काष्ठमण्डपलाई एउटै रुखको काठबाट बनेको भन्न मिल्दैन । उहाँले भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौँ शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको बताउनुभयो ।

अध्यक्ष शाक्यले पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग गरिएको बताउनुभयो । उहाँले काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको पनि बताउनुभयो ।

काष्ठमण्डप पुनर्निर्माणमा करिव ११ करोड ३९ लाख खर्च भएको पनि समितिका अध्यक्ष शाक्यले बताउनु भयो । पुनर्निर्माणका लागि ११ करोड ५० लाख विभिन्न निकायबाट अनुदान प्राप्त भएको थियो ।