२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आइतबारदेखि बाघ सर्वेक्षण सुरु


0
Shares

चितवन, मंसिर १९ । आइतबारदेखि राष्ट्रिय बाघ सर्वेक्षण २०७८ सुरु भएको छ ।

प्रत्येक चार देखि पाँच वर्षमा हुने सर्वेक्षणको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहाको एक कार्यक्रमकाबीच सुरु गर्नुभएको हो ।

बाघ गणनाका लागि प्रयोग गरिने क्यामेरा ट्रयापको स्वीच अन गरेर अभियानको सुरु गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले बाघ संरक्षणमा देखाएको चासो र कार्यक्रमले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य नजिक पुगेको दाबी गर्नुभयो ।

उहाँले लोपोन्मुख मांसाहारी जनावर भएकाले यसको संरक्षणमा प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय बाघ संरक्षण समन्वय समित गठन भएको जानकारी दिनुभयो । मन्त्री यादबले संख्या बढेसँगै मानव वन्यजन्तुवीचको द्वन्द्व कम गर्न सरकारले कार्यक्रम र बजेट विनियोजन गर्दै आइरहेको बताउनुभयो ।

सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले बाघको संख्या दोब्बर पुर्याउने लक्ष्यमा सहमति जनाएको थियो ।

सो अनुसार नेपालले आफ्नो लक्ष्य भन्दा बढी बाघको संख्या पुगेको अनुमान गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले अहिलेको सर्वेक्षणले २५० वटा बाघ पुग्ने अनुमान रहेको जानकारी दिनुभयो । सन् २०१८ मा भएको सर्वेक्षण अनुसार नेपालमा बाघ संख्या २३५ रहेको थियो ।