९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले दिए राजीनामा


0
Shares

काठमाडौं, माघ १० । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गरेका प्याकुरेलले जानकारी दिएका छन् । प्याकुरेलले विज्ञप्ति निकालेरै राजीनामा दिएको विषय सार्वजनिक गरेका छन् । 

‘संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मितिदेखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छु’ प्याकुरेलले भनेका छन् ।

उनले संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जगेर्ना गर्न सजग हुनुपर्ने पनि बताएका छन् ।

लोकतान्त्रिक आन्दोलनका दौरानमा आफूले औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठूलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिकप्रतिको उत्तरदायित्व हो भन्ने सिकेको भन्दै उनले, ‘हामीले ठूलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनुपर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्छ’, भनेका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई भागवण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न उनले आग्रह पनि गरेका छन् ।

प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सापकोटालाई सभामुखमा निर्वाचन गर्न नेकपा र विपक्षी नेपाली कांग्रेससमेत तयार भएका बेला प्याकुरेलले मानवअधिकार र सामाजिक न्यायका पक्षमा अझ दृढ भएर लाग्नका लागि पदबाट राजीनामा गरेको बताएका छन् ।

मानव अधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धि सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो ।